देउवा सरकारका पालामा बोल्न पनि नपाइने !
काठमाडौँ । गृह मन्त्रालयले विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न चेतावनी दिएको छ । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकरात्मक टिप्पणी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको बताएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता नकारात्मक टिप्पणी गर्नेमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा गृह मन्त्रालयले भनेको छ, ‘मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिब्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गंभीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सूक्ष्मरुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्नेउपर प्रचलित कानूनबमोजिम कारवाही समेत गरिने सबैमा जानकारी गराइन्छ ।’
गृह मन्त्रालयले यो विज्ञप्ति जारी गरेपछि यसले राजनीतिक क्षेत्रका साथै आम सर्वसाधरणमा तरङ्ग पैदा गरेको छ । विज्ञप्तिमा प्रयोग भएको भाषा अनुसार सरकार अगाडि बढ्न खोजेको हो भने उसले विदेशी देशसँग सम्बन्धित विषयमा हुने सडक प्रदर्शन, सामाजिक सञ्जालमार्फत र मिडियाबाट हुने विरोधका स्वर दबाउन खोजेको विश्लेषण गर्न थालिएको छ ।
रातोपाटी
