सल्यानका १० स्थानीय तहमा हेलिप्याड
सल्यान । ग्रामीण क्षेत्रका गम्भीर बिरामी, घाइते र गर्भवतीको आकस्मिक उद्धारका लागि जिल्लाका १० वटै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न सुरु गरिएको छ । स्थानीय तहको सहकार्यमा सेनाको सबुज गणले हेलिप्याड निर्माण गर्न थालेको हो ।
जिल्लाको तीन नगरपालिकामा दुई/दुई र सात गाउँपालिकामा एक/एक गरी १३ हेलिप्याड निर्माण गर्न थालिएको गणले जनाएको छ ।अहिलेसम्म सातवटा हेलिप्याड निर्माण गरिसकेको सबुज गणका गणपति कञ्चनकृष्ण बस्नेतले बताए । उनका अनुसार चारवटा हेलिप्याड निर्माण भइरहेको छ । हेलिप्याड निर्माणका लागि स्थानीय तहले सामग्री उपलब्ध गराएको उनले जानकारी दिए । ‘सबै स्थानीय तहमा नाइटभिजन हेलिप्याडको काम भइरहेको उनको भनाई रहेको छ ।
नाइटभिजन हेलिप्याड निर्माण भएपछि रातिको समयमा भएका घटनाका गम्भीर घाइतेलाई उद्धारमा सहज हुनेछ । शारदामा दुई तथा बन्गाडकुपिण्डे, बाग्चौर, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा एक/एक हेलिप्याड निर्माण भएको सेनाले जनाएको छ । गणका अनुसार दार्मा, कालीमाटी र कुमाखमा हेलिप्याड निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
विपद् व्यवस्थापनलाई सहज बनाउन पूर्वतयारीका लागि हेलिप्याड निर्माणको अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जानकारी दिईन् ।
