देउवाप्रति काँग्रेसकै नेताको अशन्तुष्टि
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको होकि भनेर नागरिकस्तरमा आलोचना सुरु भएको बताउँदै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौँमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताएका हुन्।
कांग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता विषयमा सरकारले गम्भीरताका साथ सोचेर मात्रै कदम चाल्नु पर्ने नेता सिंहको भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनु पर्ने बताए। गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपतिजनक भएको उनको भनाइ छ।
‘सरकारले जनताको दुःखमा साथ दिनु पर्दछ। सधैँ जनाताको पक्षमा हुनुपर्दछ,’ उनले भने, ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ। यसमा सरकार सच्चिनु पर्दछ।’
साथै नेता सिंहले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलित नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण राखे।
राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले देश र लोकतन्त्रका लागि कांग्रेस मजुबुत हुनु पर्ने धारण राखे।
नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरेपनि नतिजा राम्रो लिन नसक्ने उनको भनाइ छ। साथै उनले समयअनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए। १३ औँ महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धति पनि कमजोर भएको र कम्युनिष्टहरुले संविधान र व्यवस्थामाथि नै प्रहार गर्ने खोजेको उनको भनाइ रहेको छ।
