संसदमा एमालेको नियमावली विपरीत नारा : सभामुख मुर्दावाद !
नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् ।
बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता अमर्यादित नारा लगाएका थिए ।
सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । संसदीय नियमावली अनुसार ‘सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नुहने’, व्यवस्था छ ।
सभामुखले उल्लेख गरेको धारा र नियमावलीमा के छ ?
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ माग्दै नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।
