देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादकै बीच वडाअधिवेशन, पौडेलको आपत्ती
काठमाडौँ । क्रियाशील सदस्यता विवादकै बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडाअधिवेशन शुरू भएको छ ।
केही दिनअघि उपसभापति विमलेन्द्र निधि, नेता शेखर कोइरालाले डडेलधुराबाट सर्वसम्मत आएका सदस्यको नामावली जिल्ला नेतृत्वसँग समन्वय नै नगरी हटाएर माथिबाट थपेर पठाएको भन्दै पहिला क्रियाशील विवाद टुंग्याएर अधिवेशन गर्न देउवाको ध्यानाकर्षण गराएका थिए ।
यता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने उक्त, विषयलाई लियर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनीक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो ।’
पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र – तर व्यवहार अलोकतान्त्रिक
नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ,’पौडेलले लेखेका छन् ।
