देशबाहिर कोइलामा आधारित परियोजना नबनाउने चीनको घोषणा
चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ। चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरुमा सहयोग गर्दै आएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो।
तर पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना हुने गरेको छ।
चिनियाँ राष्ट्रपति सीले राष्ट्रसंघ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भनेका छन्, ‘विकासशील देशहरुलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ। विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।’
