कोभिड-१९ का कारण बालबालिकाको स्थिति थप गम्भीर हुनसक्छः युनिसेफ
कोभिड-१९ का कारण बालबालिकाको स्थिति थप गम्भीर हुनसक्ने युनिसेफले जनाएको छ।
हिजो (बुधबार) प्रतिवेदन
जारी गर्दै युनिसेफले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना र पोषण तत्वहरू प्राप्त नहुँदा उनीहरूको विकासमा हानी पुग्नसक्ने बताएको छ।
पछिल्लो समय बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ महामारीका कारण कम उमेरका बालबालिकाहरूमा पोषणको संकट थप बढेको बताइएको छ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, ‘जब जोखिम सबभन्दा बढी हुन्छ तब लाखौं बालबालिकालाई खुवाउन असमर्थ हुन्छौं। पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढ्दो शरीर र मस्तिष्कमा हानी पुर्याउँछ जसले उनीहरूको शिक्षा, रोजगारीको सम्भावना र भविष्यलाई प्रभावित गर्छ।’
९१ वटा देशहरूमा गरिएको सर्वेक्षणपछि ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाउने गरिएको पाइएको छ।
त्यस्तै, एक तिहाइ बालबालिकाले भने फस्टाउन आवश्यक खाना उपभोग गर्न पाएको उक्त प्रतिवेदनमा उल्लेख छ।
नेपाल, इन्डोनेसिया, मलावी लेसोथो र केन्याको तथ्यांकले आम्दानीमा पुगेको हानी र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा महामारीभरि नै तीनमध्ये एक परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेकाले बालबालिकाका लागि आहार व्यवस्था गर्न परिवारका लागि चिन्ताको विषय बनेको पाइएको छ।
