सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन्। मंगलबार अपरान्ह ४ बजेपछि सम्पादकहरूसँग छलफल गर्ने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए।
सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन्। प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए।
नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन्।
