कांग्रेस महामन्त्री खड्काको रेम्डिसिभिर चलाएर उपचार हुँदै
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको रेम्डिसिभिर औषधि चलाएर उपचार सुरु गरिएको छ । कोरोना संक्रमणपश्चात् बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत खड्कामा निमोनिया देखिएपछि रेम्डिसिभिर औषधि चलाएर उपचार थालिएको हो ।
खड्का आफैँले शुभचिन्तकहरूलाई ‘सीटीस्क्यानमा निमोनिया देखिएको र डाक्टरले रेम्डिसिभिर औषधि चलाएको’ जानकारी दिएका छन् । उनका अनुसार अक्सिजन लेभल (ब्लड स्याचुरेसन) भने ९७ प्रतिशत छ ।
खड्काले उनको स्वास्थ्यमा कठिनाइ भने नदेखिएको जानकारी दिएका छन् । तर, निमोनियाका कारण औषधि चलाइएको हो ।
खड्काले आफ्नो स्वास्थ्यबारे धेरैमा चासो देखिएको भन्दै बुधबार ट्विटमार्फत पनि जानकारी गराएका थिए । “होम आइसोलेसनमा सामान्य अवस्थामा बसिरहेको अवस्थामा कोभिड संक्रमणले भेटेको पाँचौँ दिनमा बिहान होमियोपेथी र एलोपेथी औषधि एकैपटक खाँदा रियाक्सन हुन गई अक्सिजन लेभल ९७ भए पनि पल्सरेट ५१ मा झर्न गई ब्लडप्रेसर ८०÷६० देखि २२०/११० सम्म हुन गएकोले करिब सात मिनेट गम्भीर अवस्थामा र करिब दुई घण्टा निरन्तर असहज भएपछि डाक्टरको परामर्शमा २०५६ सालको सशस्त्र द्वन्द्वको बेला आफ्नै हातको हस्ताक्षरले पुजनीय किसनजी प्रधानमन्त्री र म गृहमन्त्रीको रूपमा मन्त्रिपरिषद्मा प्रस्ताव लगी स्थापना गरेको एपीएफ कोरोना अस्पताल के कारणले हो महामारीको उपचारको रोजाइमा पर्यो,” खड्काले लेखेका छन्, “आज गलत सन्देश प्रवाह हुन नपाओस् भनेर अप्ठेरो नमानीकन आफैँले आदरणीय अग्रज, शुभचिन्तकहरू र समस्त परिवारजनको जानकारीका लागि पाँचौँ दिन २ बजेको एपीएफ आईसीयूको रिपोर्ट, चेस्ट एक्सरे रिपोर्ट = ० (जेरो) लेभल इन्फेक्सन, प्रेसर १२०/८३, अक्सिजन लेभल ९८÷९७÷९६ ज्वरो = ९८. मुटु = ईको, ईसीजी सामान्य । तथापि, डा. रोशन झाजी र उहाँको टिमको सुझावअनुसार अब्जरभेसनको लागि एपीएफ कोरोना अस्पतालमा एडमिसन ।”
महामन्त्री खड्काले ‘आफ्नो जीवनको करिब दुई घण्टा ७ मिनेटको गम्भीर स्वास्थ्य अवस्थाको अनुभवले भन्यो– कोरोनासँग लड्ने भनेको डाक्टरको नियमित परामर्श र मूलतः स्वयंको दृढ आत्मबल मुख्य औषधि रहेछ’ भनेका छन् ।
