ज्येष्ठ नागरिकको सम्मानमा राज्यले कुनै कमी आउन दिँदैनः प्रधानमन्त्री देउवा
आज ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। हरेक वर्ष अक्टोबर १ मा ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ।
यस अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुँदैछन्। सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ।
पछिल्ला केही वर्ष यता ज्येष्ठ नागरिकहरुको हकहित र सम्मानमा केही कदमहरु चालिएको भए पनि यस क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने अवस्था छ। आफ्नै आँगन परदेश लाग्ने उमेर समूहका नागरिकहरुलाई आत्मसम्मानसहित बाँच्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो।
नेपालमा २०५१ सालमा मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिन शुरु गरिएकोमा अहिले उक्त भत्ता मासिक चार हजार रुपियाँ पु¥याइएको छ। त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने सोको आधारमा सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ।
तर ज्येष्ठ नागरिकहरुलाई आफ्नै सन्तानबाट समेत हेला नहुने वातावरण बनाउन भने राज्य अहिले पनि चुकिरहेको छ। यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्वहरु भन्दै राज्यले उनीहरुको सम्मानमा कुनै कमी आउन नदिने बताएका छन्।
ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न सरकार अग्रसर रहेको बताएका छन्।
