सल्यानमा जीपको ठक्करबाट घाइते ५ छात्रामध्ये २ को मृत्यु
सल्यान । जीपको ठक्करबाट घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा मृत्यु भएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको छ ।
१८ वर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार कहाँ भइरहेको छ भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।
मृतक र घाइते सबै शारदा नगरपालिका ६ का हुन् ।
शुक्रबार बिहान दश बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।
थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्याप जीपले बिहान दश बजेतिर शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो ।
चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच आक्रोशित स्थानीयले दिउँसो दुई बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् ।
