सल्यानमा माइत हिँडेकी एक महिला मृत फेला, तीन जना पक्राउ
सुर्खेत । सल्यानमा माइत जान हिँडेकी एक महिला मृत फेला परेकी छन । घरबाट माइती जान खोजेकी बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी ५४ वर्षीया रामकली खत्री बाटोमै मृत फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको बताए ।
‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन त्यो समयमा सञ्चालनमा आएको देखिएन,’ डिएसपी थापाले भने,‘तर, मृतकको शरीरको घाउ खत हेर्दा गाडीले किचेकोजस्तो देखिएको छ ।’
मृतकको कान, ढाड, हातमा गाडीले कुल्चेको जस्तो घाउ देखिएको डिएसपी थापाले बताए । डिएसपी थापाका अनुसार शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो ।
खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा मृत फेला परेको डिएसपी थापाले बताए।
‘हामीले अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर पनि ल्याएका थियौं,’ डिएसपी थापाले भने, ‘कुकुरले पनि घटना अनुसन्धानमा सघाएको छ ।’
खत्री हिँडिरहेको बाटोमा त्यो दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ ।
