मन्त्रालयको भागबन्डा जुट्यो सहमति, यस्तो छ सूची
सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । आज प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए । गठबन्धन दलबीचमै विवाद उत्पन्न भएको आशंकाबीच मंगलबार मन्त्रालय भागबन्डा लगाउन शीर्ष नेताहरूबीच बैठक बसेको हो ।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँचरपाँच मन्त्रालय पाउने छन् ।
कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय परेको छ । यसअघि माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ।
एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय तथा जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति जुटेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बतायो । भोलीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ ।
