स्वविवेक प्रयोग गरेर राजीनामा दिएको हुँ : हमाल
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन्।
उनले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। हमालले मन्त्री नियुक्त भएको तेस्रो दिनमै पदबाट राजीनामा दिएका हुन्। हमाल संघीय संसदमा सांसद थिएनन् तैपनि उनी मन्त्री भएका थिए। संविधानमा सांसद नभएका व्यक्ति ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ।
हमाल मन्त्री भएपछि आलोचना भएको थियो। सत्तारूढ नेपाली काँग्रेससहित सत्ता गठबन्धनभित्र पनि यसबारेमा आलोचना भइरहेको थियो। हमाल मन्त्री नियुक्ति भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पनि विवादमा तानिएका थिए। हमाल प्रधानन्यायाधीश चोलेन्द्रका जेठान पनि हुन्। आफूमाथि सञ्चार माध्यमहरूमा आइरहेका आलोचनाले गर्दा मन्त्री परित्याग गरेको हमाल बताउँछन्।
‘हो, मैले आफूलाई विवादमा राख्न चाहिन, ममाथि लागेका जुन खालका आरोप छन्, आरोप र आलोचनाले म आफूलाई बदनाम गर्न चाहिन,’ उनले भनेका छन्, ‘अनि मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ।’ आफू पदका लागि राजनीति नगरेको उनको भनाइ छ। ‘मैले आफ्नो स्वविवेक प्रयोग गरेँ। धेरै सोचेँ। विवादमा किन परूँ ? हुन त मलाई साथीहरूले र नेताहरूले पनि राजीनामा नदेऊ भनेका पनि थिए,’ हमालले भने।
