साफ च्याम्पियनसिपमा माल्दिभ्सको दोस्रो जित
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आयोजक माल्दिभ्सले दोस्रो जित हात पारेको छ। माल्दिभ्सले आइतबार साँझ सकिएको खेलमा श्रीलंकालाई १-० गोलले हरायो।
माल्दिभ्सको जितमा अली अस्फाकले खेलको छैटौं मिनेटमा गोल गरेका थिए। अघिल्लो खेलमा माल्दिभ्सले बंगलादेशलाई २-० गोलले हराएको थियो। पहिलो खेलमा माल्दिभ्सलाई नेपालले १-० गोलले हराएको थियो।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको माल्दिभ्सले ३ खेलबाट ६ अंक जोडेको छ। दुई खेलमा दुई जित निकालेर ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। नेपालले आज राति ९:४५ बजे सात पटकको च्याम्पियन भारतसँग खेल्दैछ।
खेलमा जित निकाले नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुग्नेछ। यता चार खेलमा तीन हार र एक बराबरी खेलेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
