राउटेलाई दसैं मनाउन अब मदुस बेच्न पर्दैन
दैलेख । विजया दशमीका दिन नजिकै जाँदा राउटे जातिमा पनि दसैंको रौनकता छाएको छ । पहिले पहिले दसंै खर्चको जोहोका लागि काठका कोसी मदुस, झुमा खाट, आरी, बिक्री गर्थे । अचेल सरकारले दिने सामाजिक सुरक्षा भत्ताले मनाउँछन् । बेलैमा सामाजिक सुरक्षा भत्ता दिएकाले पनि उनीहरूको समुदायमा रौनकता छाएको छ ।घटस्थापनाको दिन दैलेखको गुराँस गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाएका राउटेहरूले चामल, खसी, बाख्रा र कुखुरा खोजेर ल्याइसकेका छन् ।
राउटे समुदायका युवा प्रकाश शाही भन्छन्, ‘पूजाको दिन बलि दिनका लागि बाख्रा किनिसकेका छौं ।’ राउटे समुदायले आफ्ना छोरा छोरीलाई व्यथा विराम नलागोस् भनेर प्रतिबच्चा एक÷एक कुखुराको चल्ला कुपिन्डो कुल देवता मस्टोलाई चढाउने गरेको मुखिया सूर्यनारायण शाहीले बताए । दसैंका बेला कुल देवताको पूजाआजा गरेमा बालबच्चा बिरामी नहुने राउटे समुदायमा विश्वास रहेको छ ।
राउटे समुदाय पहिले पहिले दसैं खर्चको जोहोका लागि काठका कोसी मदुस, झुमा खाट, आरी, बिक्री गर्थे । अचेल सरकारले दिने सामाजिक सुरक्षा भत्ताले दसैं मनाउँछन्
दसंैको समयमा राउटेले प्रतिघरधुरी एक बाख्रा काट्ने परम्परा छ । खसीभन्दा बाख्रा सस्तो पाउने भएकाले आफूहरूले बाख्राको नै बलि दिने गरेको राउटे समुदायका हरि शाहीले बताए । ‘खसीको पैसा धेरै पर्छ, राउटेसँग धेरै पैसा हुँदैन बाख्रा नकिने के गर्नु ?’ उनले भने । ‘मेरो जनतालाई दसंै कसरी मनाउने भन्ने चिन्ता लागेको थियो । गाउँपालिकाले समयमै भत्ता दिएकाले हामी खुसी भएका छौं हाम्रो दसंै राम्रो हुने भयो,’ उनले भने ।

राउटे समुदायले विजया दशमी मनाए पनि जमरा लगाउने परम्परा छैन । जमरा पनि राख्दैनन् । राउटे समुदायमा खेतीपाती, स्थायी बसोबास र लेखपढ महाशत्रु भएकाले उनीहरूले जमरालाई पनि खेतीपातीकै रूपमा लिने गरेको महामुखिया महिनबहादुर शाहीले बताए । ‘हामी दसंैमा टन्न जाँडरक्सी माछामासु तेलमा रोटी पकाएर खान्छांै, दुनियाँले जस्तो गरेर जमरा लगाउँदैनौं ।’ राउटे समुदाय सधै बगालसँग हुन्छ, देश जाँदैन विदेश जाँदैन, जागिरी खान बाहिर जिल्ला पनि जाँदैन सधैंसँगै भएपछि ढोक कसरी गर्ने त महामुखियाले प्रश्न गरे ? राउटे समुदायमा घटस्थापनादेखि स–साना बालकको कपाल खौरिने, नुहाउने, कपडा धुने चलन छ । महिलाले बसोबास गरेको घर लिपपोत गर्ने गर्छन् भने पुरुषले वनबाट दाउरा संकलन गर्ने गर्दछन् । तर, विधुवा महिला भने आफैं दाउरा संकलन गर्छन् । दसंै रमाइलो गर्ने भएकाले रातिमा राउटे युवा नाचगान गरेर रमाउँछन् भने महिला दर्शक मात्र हुन्छन् ।
राउटे समुदायमा महिलाले नाचगान गर्दा नराम्रो मानिने चलन छ । नेपालको एक मात्र भ्रमणशील समुदायको विशिष्ट पहिचान छ । यिनीहरूका एकआपसमा गोप्यता छैन । धनसम्पति कमाउने लोभ छैन । जातीय विभेद छैन । यही फरक संस्कृतिबाट नै राउटेले आफ्नो पहिचान दिन थालेका हुन् । राउटेमा कल्याल, समाल र रास्कोटी गरी तीन जाति छन् । १ सय ४० जनामा रहेका राउटे सल्यान जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–१ घाटगाउँ बसोबास गरिरहेका छन् ।
