दसैँका बेला एक घरमा चोरी
दसैंका बेला घरमा कोही नभएको मौका छोपेर दाङमा चोरीका घटना भएको छ।
तुलसीपुर उपमहानगर वडा नम्बर ६ बरुवा गाउँस्थित एक घरमा चोरी भएको छ ।
दसैं मनाउन सल्यान गएको मौका छोपी एउटै घरभित्र कोठा भाडामा बस्ने ४र५ परिवारको कोठाभित्र रहेका सामानहरू चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए।
‘कोठाहरुको ताल्चा फोडेर चोरी गरेको अवस्था छ,’ शर्माले भने ‘केही मानिस सल्यानबाट फर्किनसकेको हुँदा कति चोरी भएको हो त्यसको यकिन भइसकेको छैन।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दसैं मनाउन जिल्ला बाहिर जाँदा सम्बन्धित ब्यक्तिले प्रहरी प्रशासनलाई तथा आसपासका छिमेकीहरुलाई समेत कुनै खबर नगरी निस्कने हुँदा चोरले त्यसको फाइदा उठाउने गरेको बताए।
‘प्रहरीलाई पूर्वसूचना भएको ठाउँमा प्रहरीले निगरानी गरेको थियो,’ अर्यालले भने, ‘जसले खबरै नगरी दसैं मनाउन बाहिर गए भित्री गल्लीहरुमा त्यस्तो चोरी भएको पाइएको छ।’
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दसैंको अवधिमा घोराही उपमहानगर वडा नम्बर १८ को एक घरमा चोरी भएको सूचना प्राप्त भएको बताए। ‘त्यो ग्रामिण क्षेत्र हो र घर एक्लै रहेको भन्ने छ,’ काफ्लेले भने ‘त्यहाँबाट १८ हजार नगद र एकतोला सुनका गरगहना चोरी भएको सूचना प्राप्त भएको छ।’
एसपी काफ्लेले भने दशैं मनाउन पुर्खेली थलो जानु पूर्वस्थानीय प्रहरी प्रशासनसँग समन्वय वा घर छिमेकका मानिसहरुलाई जानकारी नगराउनु जस्ता कारणले चोरी भएको मान्न सकिने बताए।
‘सर्वसाधारणले आवश्यक सावधानी अपनाउने गरेको देखिँदैन,’ उनले भने, ‘पूर्व सावधानी अपनाएको भए यस्ता घटनाहरु न्यूनिकरण गर्न सहज हुनेछ ।’
यी बाहेक जिल्लाका अन्य स्थानमा चोरी भएको सूचना प्राप्त नभएको एसपी काफ्लेले जानकारी दिए।
