माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल भएको छ। दशैं बिदापछि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पुस महिनामा हुने सम्मेलनको तयारीबारे छलफल भएको हो।
बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘आजदेखि बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल सुरु भएको छ,’ उनले भने, ‘अव मंगलबार बिहान ८ बजे पुनः बैठक बसी थप छलफल हुनेछ।’ माओवादीले यही पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।
स्थानीय सम्मेलन, विभाग गठन तथा पुनर्गठन र पार्टी सदस्यता नवीकरणका विषयमा समेत छलफल सुरु भएको उनले जानकारी दिए। बैठकमा विविध विषय छलफल भए पनि कुनै टुंगोमा भने नपुगेको उनले बताए। महराका अनुसार मंगलवार बिहान ८ बजेका लागि अर्को बैठक बोलाइएको छ। उक्त बैठकमा सम्मेलनबारे निर्णय हुने बताइएको छ।
भोलिको बैठकमा सबै विषयमा खुला छलफल हुने र आजै कुनै निर्णय नभएको महराले जानकारी दिए। माओवादी केन्द्रले एमालेसँगको एकता टुंगिएसँगै पार्टीले पुनर्संरचना गर्ने बताएको छ। त्यसका लागि माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी बाँडफाँट गरिसकेको छ भने कमिटी बिस्तारको रणनीति बनाएको छ।
माओवादी केन्द्रको संगठन विभागले तयार पारेको योजना अनुसार ३० लाख पार्टी सदस्य बनाउने पार्टीको नीति छ। नेपाली कांग्रेस र नेकपा एमाले भन्दा ठुलो पार्टी बनाउने योजना माओवादी केन्द्रको स्थायी कमिटीको यसअघिका बैठकले अनुमोदन गरिसकेको छ।
