कर्णालीमा बाढी पहिरोमा परी ८ जनाको मृत्यु, ३ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो
१३८ पशु चौपायामा क्षति
आइतबारदेखिको निरन्तर वर्षाका कारण कर्णाली प्रदेशमा जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत हुन पुगेको छ । बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने धानबाली, पशु चौपायामा समेत क्षति भएको हो । चार दिनको अवधिमा बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई जानकारी दिएको छ । मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ खर्पेल गाउँका ६ जना, जुम्लामा एक र कालिकोटमा एकजना रहेका छन् ।
हुम्लामा भने एकै परिवारका ६ जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मृत्यु हुनेमा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।
यस्तै मंगलबार कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । उनकै ११ वर्षकी छोरी यूनिषा अधिकारीको दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरी र स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको थियो । पहिरो खसेर घर भत्किँदा यो स्मृतिको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठताअनुसार बाढी, पहिरोबाट ४ वटा गाई, तीनवटा बाच्छा र १३० भेडाबाख्रा मरेका छन् ।
३ जना घाइते
प्रहरीका अनुसार बाढी पहिरोबाट केही व्यक्तिहरु घाइते भएका छन् । कालिकोट रास्कोट नगरपालिका–८ पलातिवाडा बस्ने वर्ष ६३ को नन्दु न्यौपाने र निजको छोरी वर्ष १३ कि बाँचु न्यौपाने गोठबाट घर तर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घईते भएका छन् । श्रेष्ठका अनुसार नन्दु न्यौपानेको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको छ ।
यस्तै कर्णाली नदीको बाढीमा बगेका सुर्खेतका पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ । सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए ।
शर्मालाई नदीले बगाएको भन्ने खवर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी तातोपानीबाट ६ जनाको प्रहरी टोली उनको उद्दारका लागि खटिएको थियो । प्रहरी र स्थानीयबासीले खोजतलास गर्ने क्रममा शर्मा बगेको स्थानदेखि झण्डै चार किलोमिटर तल झ्याङ्गझ्याङ्गे भन्ने स्थानमा फेला परेको प्रवक्ता श्रेष्ठले बताए ।
बाहिरी चोट नदेखिएपनि उनको उद्दार गरेर उपचारको लागि बावियाचौर पठाइएको छ ।
जोखिममा रहेका ३ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण जोखिममा रहेका ३ सय बढी घरपरिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भएको छ ।
कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ५४ घरधुरी संख्या रहेको बस्तीका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ भने कालिकोटको राम्नि बस्तीका साढे २ सय परिवारहरुलाई स्थान्तरण गरिएको छ ।
उनीहरुलाई राम्नि माद्यामिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकिमा राखिएको छ । स्थान्तरण गरिएका नागरिकहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, नेपाल रेडक्रस र स्थानीय पालिकाहरुले आधारभूत सहयोग गरिरहेका छन् ।
यस्तै दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१ मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी टोलीले स्थानीय वासिन्दाहरुको सहयोगमा २०र२५ घर दुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिरहेको छ ।
