कर्णाली बेसिनका २९ स्थानीय तहमा ‘कर्णाली वाटर एक्टिभिटी’ परियोजना
सुर्खेत, । कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका कर्णाली बेसिन क्षेत्रमा पर्ने २९ स्थानीय तहमा ‘युएसएआइडी कर्णाली वाटर एक्टिभिटी’ आयोजना लागू भएको छ । जलस्रोतको बहुआयामिक प्रयोग एवं स्वच्छ खानेपानी र सरसफाइ सेवाको प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले रारा खत्याड, तिला कर्णाली, मध्य कर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रका स्थानीय तहमा आयोजना लागू भएको हो ।

युएसएआइडी कर्णाली वाटर एक्टिभिटी परियोजनाका अनुसार कर्णाली बेसिनमा पर्ने मुगुका खत्याड, सोरू र छायाँनाथ रारा, जुम्लाको तिला, कालीकोटका महाबै, शुभकालिका, तिलागुफा, खाडाचक्र र नरहरिनाथ, अछामका रामारोशन, पन्चदेवल विनायक, कमलबजार र तुर्माखाँद, दैलेखका आठविस, ठाटीकाँध, चामुन्डाविन्द्रासैनी, भैरवी र दुल्लु, सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने, बर्दियाका ठाकुरबाबा, मधुवन, गेरूवा, राजापुर र कैलालीका टिकापुर, जानकी, लम्कीचुहा र मोहन्याल गाउँपालिकामा कार्यक्रम लागू भएको छ । पाँच वर्षे यो आयोजनाले २४.७९ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

परियोजना प्रमुख नीलु बस्न्यातले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसंग सहकार्य गर्ने अभिप्रायका साथ कार्यक्रम शुरु भएको जानकारी दिईन । उनले भनिन् “कार्यक्रमले खानेपानी तथा सरसफाइ क्षेत्रको सुशासन प्रर्वद्धनका माध्यमबाट जलाधार क्षेत्रमा स्वच्छ पानीको सुलभ उपलब्धतामा जोड दिनेछ,। “फोहोरमैलाको उचित व्यवस्थापन गरी वातवरणमा दिसाजन्य रोगको बोझ कम गर्नुका साथै जलस्रोत तथा जलाधार क्षेत्रको जैविक विविधता संरक्षणमा टेवा पुग्ने विश्वास छ ।”

सन् २०२६ जुलाई महिनाको अन्त्यसम्म आयोजनाले २७० समुदायमा आधारित सुरक्षित खानेपानी आपूर्ति प्रणाली निर्माण तथा पुनर्निर्माण, विद्यमान खानेपानी पूर्वाधारको स्तरोन्नति, संकटासन्न जनसंख्यालाई लक्षित गरी ५० बहुउपयोगी जल प्रणाली निर्माण, पानीको संरक्षण र उत्पादकत्वमा वृद्धिका लागि कृृषि तथा भू जलाधार व्यवस्थापनसंग सम्बन्धित अभ्यास गर्ने, १२ सहरी सरसफाइ योजना सम्पन्न गर्ने, छ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका साथै त्यससंग सम्बन्धित व्यवसायिक योजना निर्माण लगायतका कामहरु सम्पन्न गर्ने परियोजनाले जनाएको छ । (रासस)
