लेनदेनमा कुरा नमिलेपछि बलात्कार मुद्दा
दाङ तुलसीपुरकी एक महिलाले जबरजस्ती बलात्कार गरेको भनेर किटानी जाहेरी दिएपछि सल्यानका एक युवक पक्राउ परेका छन्।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं। ६ लुहामका २६ प्रमोद श्रेष्ठ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहका आधारमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरी बुधबार आवश्यक कानुनी कारबाहीका लागि दाङको तुलसीपुर पठाएको छ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले तुलसीपुरमा बस्दै आएकी एक १९ वर्षीया विवाहित महिलाले कात्तिक ७ गते इप्रका तुलसीपुरमा श्रेष्ठविरूद्ध किटानी जाहेरी दिएपछि सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी दाङ पठाउन लुहाम प्रहरीको सहयोग लिनु परेको बताए।
पीडित महिलाले जाहेरीमा असोज अन्तिममा आफूलाई श्रेष्ठले ललाइफकाइ तुलसीपुर १३ दमारगाउँस्थित जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन्।
स्रोतका अनुसार श्रेष्ठलाई बलात्कार गरेको भनेर किटानी जाहेरी दिने ती महिलाको माइती घर पनि सल्यान नै हो।
उनका श्रीमान रोजगारीका सिलसिलामा हाल विदेशमा छन्।
‘घर परिवारले समेत बुहारीको स्थानीय परपुरूषसँगको सम्बन्धबारे जानकारी पाएका थिए,’ पक्राउ परेका श्रेष्ठका एक आफन्तले भने, ‘केटाले ती महिलाई विवाह गर्ने भन्दै नेपालगञ्ज, काठमाडौंमात्रै हैन केही दिन लुहामस्थित घरमै पनि ल्याएर राखेका हुन्।’
छोरा विदेशमा हुँदा बुहारी अर्कै केटासँग गएपछि घर परिवारका मानिस दसैं पछाडि श्रेष्ठको घरमा पुगेर ठूलो आर्थिक माग राखे।
‘बुहारी ती पुरूषसँग गएपछि उनको परिवारसँग घर परिवारले झन्डै २७ लाख जति रकम दाबी गर्न आए,’ ती आफन्तले भने,‘ तर, श्रेष्ठका बुवाले आफूसँग पैसा नभएको हुँदा बरु छोरालाई नै लैजान आग्रह गरेपछि बल्ल घर परिवारले बलात्कारको मुद्दा हालेर फसाउने षडयन्त्र गरेका हुन्।’
विदेशमा रहेका ती महिलाका श्रीमानले समेत आफ्नी श्रीमती अर्कैसँग गएको कुरा घर परिवारबाटै थाहा पाइसकेका छन्। तर, घर पक्षधरले जारी ९श्रीमती अर्कैसँग गएपछि मागिने रकम० को लालचले बलात्कार मुद्दा हाल्न बुहारीलाई बाध्य पारेर श्रेष्ठलाई फसाउने काम भएको ती आफन्तले दाबी गरे।
‘श्रीमतीको अर्कैसँग प्रेम सम्बन्ध भएर विवाह भई घरमा गइसके पनि पैसाको बार्गेनिङ नमिलेर बलात्कार मुद्दा हालेर फसाउनु राम्रो पक्ष हुँदै होइन,’ ती आफन्तले भने,‘नियमले त पहिलेको श्रीमानलाई पनि बलात्कार मुद्दा लाग्नु पर्ने हो, किनकि केटीको उमेर अझै १९ वर्ष मात्रै छ।’
प्रचलित कानुन अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न पाइँदैन। त्योभन्दा कम उमेरका युवतीसँग सल्लाहले सम्बन्ध राखे पनि बलात्कार गरेको ठहर भई स्वतस् मुद्दा आकर्षित हुने गर्छ।
