जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ : ऊर्जामन्त्री भुसाल
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार नै विकास निर्माणका कामलाई अगाडि बढाउने विश्वास दिलाएकी छन्। भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै मन्त्री भुसालले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएकी हुन्।
गोदावरी नगरपालिका वडा नं १२ ठेचो र काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको संयुक्त सहकार्यमा आज आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्,“हामी जनतालाई साथमा लिएर विकास निर्माण कार्यलाई अगाडि बढाउन प्रतिवद्ध छौँ । स्वास्थ, शिक्षा एवं पूर्वाधारका विकासका लागि सरकार जनताप्रति प्रतिवद्ध छ। जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ ।”
मन्त्री भुसालले जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढ्ने विश्वास दिलाइन्। उनले भनिन्, “सातदोबाटो–चापागाउँ सडकको स्तरोउन्नती गर्दा जनताको इन्छाअनुसार नै गरेको हौँ ।” मन्त्री भुसालले प्रभावित जनतालाई सहमत गराएर मात्र विकास निर्माण अगाडि बढाउने पक्षामा आफूहरू रहेको स्पष्ट पारेकी छन्।
ललितपुर जिल्लामा स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख गर्दै मन्त्री भुसालले धनीवर्गका लागि महङ्गा अस्पताल र गरिब जनताले निःशूल्क स्वास्थ्य सेवा पनि पाउन नसक्ने अवस्था रहेको बताएकी छन्।
कार्यक्रममा बागमती प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य, शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। गोदावरीको वडा नं १२ स्थित लिटिलस्टार स्कूल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले काठमाडौँ मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निःशूल्क स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन् ।
