बाढी-पहिरो पीडित भन्छन् : के खाने भन्ने चिन्ता थपियो
डोटी। यहाँका किसानलाई बाढी-पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ। काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर पराल मात्रै बाँकी छ। बाढीले के कति क्षति पुर्यायो भन्ने आंकलनसम्म गर्न सकिएको छैन।
पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल सिलगढी नगरपालिका-४ का किसान सुरज विकले जानकारी दिए। वर्षाले परालसमेत झिजाएकाले गाई, भैँसीलाई समेत उक्त पराल खुवाउन नसकिने अवस्थामा रहेको उनको भनाइ छ। खेतमा भिजेका परालमा समेत ढुसी लागेकाले बस्तुभाउलाई खुवाउन नमिल्ने अवस्थामा भएको शिखर नगरपालिका-२ का रतन कामीले बताए।
उक्त वर्षासँगै बाढी-पहिराका कारण जिल्लामा कम्तीमा पनि एक करोड मूल्य बराबरको कृषि खेतीमा मात्रै क्षति पुगेको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ। केन्द्रका अनुसार समथर अर्थात् मैदान क्षेत्र रहेका यहाँका कतिपय ठाउँका खेतमा अझै पानी नसुकेको र पानी निकास नहुँदा काटिएका धानसमेत डुबानमै परेका छन्। पाकेर भित्र्याउने अवस्थामा रहेको धान बाली वर्षासँगैको बाढीले नष्ट गरेपछि यस वर्ष जिल्लामा ठूलो भोकमरी हुने जनाउँदै किसान चिन्तित बनेका छन्।
वर्षाले धानलाई झार्नुका साथै बोटसमेत ढालेर बगाएका कारण पशु चौपायालाई समेत के खुवाउने भन्ने चिन्ता थपिएको जोरायल-४ का पदमबहादुर बोहराले बताए। उनी भन्छन्, ‘हामी त मागेर वा केही काम गरी पेट पालौंला, तर पालिएका पशु चौपायालाई हिउँदभरि के खुवाउने अब मंसिरबाट हिउँ पर्छ झन समस्या।’ बाढी-पहिराले बगाएका यहाँका अधिकांश ठाउँका सडक अझै खुलाउन सकिएको छैन। कतिपय ठाउँमा नयाँ सडक निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएका कारण सडक सञ्चालन गराउनका लागि निकै समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय दिपायल कुलपातेले जनाएको छ।
जिल्ला जोड्ने डा केआइसिंह राजमार्ग केही दिन पहिले सञ्चालन गरिए पनि अन्य नौ स्थानीय तहमा निर्माण भएका शाखा सडक सञ्चालन हुन नसकेका कारण नागरिकलाई आवतजावत गर्नदेखि राहत पुर्याउनका लागि पनि कठिन भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए। उनले भने, ‘बाढी-पहिराले पानीका मुहान दूषित भएका छन्, अब विभिन्न सरुवा रोग फैलिन सक्ने भएकाले औषधि ढुवानीदेखि खाद्यान्न राहतसम्म पुर्याउन बाटो बनाउन सकिएको छैन, हामी कोसिसमै छौं।’
जिल्ला विपद् व्यवस्थापन समितिको तत्थ्यांकानुसार यस पटकको वर्षासँगैको बाढी पहिराले जिल्लामा करोडौंको धनजन क्षति पुर्याएको छ भने बाढी पहिरामा परी १५ जनाले ज्यान गुमाएका छन्। यसै गरी वर्षातकै कारण एक बेपत्ता भएका छन् भने सयौं बढी घरपरिवार विस्थापित भएका छन्। वर्षातकै कारण जिल्लामा चार दिनदेखि विद्युत् तथा फोन सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। समयमै वर्षात भएका कारण यस वर्ष सुदूरपश्चिममा राम्रो धान खेती हुने अनुमान गरिएको थियो। तर, अहिलेको वर्षाले धान बाली नष्ट गरेका कारण भोकमरी हुने सम्भावना प्रबल रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए।
–रासस
