ओलीले राजावादीसँग भेटेर गणतन्त्र उल्ट्याउने कुरा गरे : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन्। माओवादी केन्द्र कीर्तिपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग भेटेर ओलीले आफूलाई गणतन्त्र पटक्कै मन नपरेको र यसलाई अन्त्य गराउने उपायको खोजीमा रहेको बताएको आफूले सुनेको बताए।
‘केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेसँग भेटेर गणतन्त्र, संघीयता मलाई पहिलेदेखि नै मन परेको थिएनँ, बाध्य भएर गरेको हो, मौका आयो भने उल्ट्याउने हो भनेर भनेको सुनेँ,’ प्रचण्डले भने, ‘स्थिति कहाँसम्म पुग्यारहेछ हेर्नुस्।’ प्रचण्डले मुलुकको राजनीतिको केन्द्रमा माओवादी हेडक्वाटर नै स्थापित भएको दाबी गरे। नेकपा विभाजनपछि माओवादी अब सिद्धियो भनेर प्रचार गरिएको बताउँदै उनले त्यसविपरीत मुलुकको केन्द्रमा माओवादी केन्द्र नै स्थापित भएको दाबी गरे।
‘प्रचण्डलाइ घेराबन्दी र अपमानित गर्ने प्रयास धेरै भयो, अब माओवादी सकियो भनेर प्रचार गरे। तर मुलुकको केन्द्रमा त माओवादी हेडक्वाटर नै स्थापित भयो नि’, प्रचण्डले भने। उनले विगतमा आफ्नो राजनीतिक एजेण्डाको मार्केटिङ गर्न नजानेर पार्टी कमजोर भएको बताउँदै अब विगतबाट पाठ सिक्दै पार्टीमा नयाँ उभार ल्याउने बताए।
‘हामीले राम्रा राम्रा काम गर्यौं। सामान बनायौं। तर बिक्री गर्न जानीराख्या छैनौं। मार्केटिङ गर्ने क्षमता हाम्रो अलि पुग्या छैन। हामीले गरेका राम्रा ऐतिहासिक कामहरू जनताको बीचमा स्थापित गर्न जरुरी छ,’ प्रचण्डले भने। उनले अब विगतका कमजोरी सच्याउँछौं भनेर आत्मालोचनासहित जनताको घरमा गए केही महिनाभित्रै एउटा पार्टीमा उभार आउने सम्भावना रहेको बताए। उनले नेकपा विभाजन भएको नभइ विभाजन गराइएको दाबी गरे।
‘पार्टी फुटाइएको हो। २५ प्रतिशतमा ओली थिए । ७५ प्रतिशतमा हामी थियौं। मलाई दलको नेता बनाइयो। केही दिनमा प्रधानमन्त्री हुनेवाला थिएँ। तर अदालतले पार्टी अलग-अलग हुने भन्यो। जुन दिन मलाई दलको नेता चुनियो र प्रधानमन्त्री हुँदै थिएँ पार्टी अलग-अलग हुन आदेश भयो,’ प्रचण्डले भने।
