कर्णालीका मुख्यमन्त्री शाहीले आजै राजीनामा दिने, जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् ।
प्रदेश सरकार सञ्चालनका क्रममा नेपाली कांग्रेससँग भएको सहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेको माओवादी केन्द्रका तर्फबाट कर्णाली प्रदेशसभा सदस्य रहेका एक सांसदले जानकारी दिए ।
शाहीले सोमवार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकपछि पदबाट राजीनामा दिन लागेको ती सांसदले बताए ।
‘सहमति कार्यान्वयको लागि मुख्यमन्त्रीले राजीनामा दिन लाग्नुभएको छ । क्याबिनेटको बैठकपछि राजीनामा दिनुहुन्छ,’ ती सांसदले भने ।
गत वैशाख १५ गते कणाली प्रदेश सरकारको नेतृत्व ६ महिनापछि कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति गरेर शाही नेतृत्वको सरकारले विश्वासको मत पाएको थियो ।
शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेसका मुख्यमन्त्री शाहीले पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवारै राजीनामा दिने सहमति भएको बताए ।
