जीवन बहादुर शाही भन्छन्– अब त ढुक्क भइयो !
कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक देखिएका छन्। त्यसका लागि काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले केही समयअघि छलफल गरिसकेका छन् ।
छलफलपछि रातोपाटीसँग कुरा गर्दै काँग्रेस नेता शाहीले मुख्यमन्त्रीले सत्ता हस्तान्तरण गर्ने कुरामा आफू ढुक्क रहेको बताए ।
‘उहाँ सकारात्मक हुनुहुन्छ,’उनले भने,‘ बाहिर जति कुरा आएपनि जहिले पनि उहाँ सकारात्मक नै हुनुहुन्थ्यो । यदि सकरात्मक नभएको भए त वैशाख ३ मा सहमति नै हुन्थेन नि ! उहाँहरु अहिले क्याबिनेट बैठकमा हुनुहुन्छ ।आज वा भोलिसम्म त आउला भन्ने विश्वास छ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ ।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्र बहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्वयन गर्नुपर्नेमा काँग्रेसले जोड दिँदै आएको छ ।
