अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो: गगन थापा
सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा हराउनुपर्ने बताए।
‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने।
विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको थापाले बताए। नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन केही समयअगाडि चेतावनी नै दिएका थिए।
‘सिङ्गल(सिङ्गल लड्ने भनेको होइनरु हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ उनले भने।
उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए।
‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’
उनले अर्ली इलेक्सन नहुने पनि बताए। बरू वैशाखमा स्थानीय तहको चुनाव हुने उनको भनाइ छ।
पार्टीको १४ औं महाधिवेशन मंसिरमा हुने र पुस २ भित्र निर्वाचन आयोगमा १४ औं महाधिवेशनपछि आएको कार्यसमिति दर्ताका लागि जाने पनि उनले बताए।
राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त पदमा पनि उपनिर्वाचनको तयारी छ।
