सुर्खेतमा राति १० बजेसम्म मात्र भैलो खेल्न पाइने
सुर्खेतमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यलय सुर्खेतले स्वास्थ्य सतर्कता अपनाएर २५ जनाभन्दा कमको समूहमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार प्रशासनले तिहार पर्वलाई व्यवस्थित गर्न सार्वजनिक सूचना जारी गदैँ कोरोना संक्रमणको जोखिम रहेको भन्दै सचेत भएर चाडपर्व मनाउन आग्रह गरेको बताए।
अधिकारी रिजालले भने ‘शान्ति सुरक्षालाई समेत मध्यनजर गरेर जिल्लावासीलाई सूचित गर्दै स्वास्थ्य मापदण्डको पालना गरेर दीपावली पर्व मनाउन अनुरोध गरेका छौं।’
त्यस्तै चाडपर्व हर्षोल्लासका साथ मनाउने क्रममा हुनसक्ने अप्रिय घटना न्यूनीकरणका लागि सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ ।
प्रशासनले कानुन विपरीतका अवाञ्छनीय गतिविधि नगर्न सार्वजनिक सूचनामार्फत सचेत गराएको छ । प्रशासनले दीपावलीमा पटका र आतिसवाजीजस्ता प्रज्वलनशील वस्तुको ओसार–पसार, बिक्री–वितरण तथा प्रयोगमा रोक लगाएको छ ।
