केन्द्रीय कमिटी बैठकमा झलनाथले भने- एमालेलाई ‘बपौती’ बनाएपछि हामीले विद्रोह गरेका हौं
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाले केन्द्रीय कमिटी बैठकमा एमाले छोड्नु परेको कारण बताएका छन्।
शनिबार ललितपुरमा बसेको बैठकमा खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘बपौती’ बनाएर विधिअनुसार नचलेकोले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन्।
उनले ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने काम गरेको, व्यक्तिस्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटक पटक लत्याएकोले आफूहरू विद्रोह गरेको बताए।
यस्तै उनले पार्टी विघटनको कारण दक्षिणपन्थ र संशोधनवाद उल्लेख गरेका छन्।
उनले अब जबज आफूहरूको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन्। उनले पार्टीमा सुधार गर्नुपर्ने कामबारे पनि बताए।
‘सैद्धान्तिक फौज नभई पार्टी बन्दैन। अध्ययन शैलीमा सुधार गर्नुपर्छ। सैद्धान्तिक वैचारिक कामलाई नै प्राथमिकतामा राख्नुपर्छ’, उनले भने।
विधिनिष्ट भएर पार्टी निर्माण गर्नुपर्ने समेत उनले बताएका छन्।
