आगामी चैत्रमा निर्वाचन गर्नुपर्छ : गगन थापा
काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन्। नेता थापाले काँग्रेस पहिलो पार्टी बन्न ४५ लाख मत आवश्यक रहेको बताए। गत निर्वाचनमा काँग्रेसको ३२ लाख मत पाएको थियो। उक्त मतले मात्र काँग्रेस पहिलो पार्टी बन्न नसक्ने उनको भनाई छ।
थापाले भने, ‘काँग्रेससँग भएको मतले मात्रै पहिलो पार्टी बन्न सकिन्न। यो पटक ४५ लाख मत पुर्याउनु पर्ने छ। १३ लाख मत काँग्रेसले थप्नुपर्नेछ।’ काठमाडौंको वडा र पालिका अधिवेशनमा विजयीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले आवश्यक थप मत पुर्याउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे।
उनले आगामी चैत्र ५ भित्रै स्थानीय निर्वाचन हुनुपर्ने बताए। चैत ५ भन्दा स्थानीय निर्वाचन पर सार्ने सुविधा संविधानले नदिएको उनले प्रष्टाए। चैत ५ पछि स्थानीय तहको निर्वाचन गर्ने भए अध्यादेश ल्याउनुपर्ने उनको तर्क छ। ‘हामीलाई तीन महिना मात्रै बाँकी छ,’ नेता थापाले भने, ‘१८ वर्षको मतदातालाई काँग्रेसको इतिहास सुनाएर हुँदैन। भविष्यमा काँग्रेसले गर्ने कार्य बताउन सक्नुपर्दछ।’
हिजोको केन्द्रीय समितिको बैठक पछि अब महाधिवेशन हुन्छ भन्ने विश्वास पलाएको उनले बताए। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए महाधिवेशन हुने सुनिश्चितता नहुने उनले बताए। ‘पुसको पहिलो साता नयाँ नेतृत्वको नामावली बुझाउने अनिवार्यता आयोगले नगरेको भए सायद महाधिवेशन हुने थिएन। सामूहिक क्षयीकरणको यो एउटा प्रमाण हो,’ थापाले भने।
