विश्वासको मत लिएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री शाही
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिईसकेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । मंसिर १४ गते विश्वासको मत लिन लागेका मुख्यमन्त्री शाहीले त्यसपछि मात्र सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए।
अहिले कर्णाली प्रदेशको मन्त्रिपरिषदमा मुख्यमन्त्री र एक जना मन्त्री मात्र छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलका नेता शाहीले कात्तिक ३० गते एक जना मन्त्री नियुक्त गरेका थिए। एकीकत समाजवादी कर्णाली प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् । अब बाँकी ६ जना मन्त्री नियुक्त गर्न बाँकी छ ।
३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिईसक्नुपर्छ, यो समयावधि १५ गते पुग्दैछ, कांग्रेस सचेतक शाहीले भने, विश्वासको मत लिएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने कुरा भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिनेक्रममा बाँकी रहेका मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बन्ने टुगो पनि लागेको छैन । मुख्यमन्त्रीले विश्वासको मत लिईसकेपछि नै यो विषयमा टुंगो लगाईने शाहीले बताए। कर्णाली प्रदेशमा सत्ता साझेदार दलमध्ये नेकपा माओवादी केन्द्रले भने चार मन्त्रालयको दाबी गरिसकेको छ । शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको वैठकबाट नै चार वटा मन्त्रालय लिने निर्णय गरेको हो ।
