काँग्रेस महाधिवेशन : दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतदान सुरु
सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदान हुँदै छ । सोही बमोजिम दैलेख र सुर्खेतमा मतदान सुरु भएको छ ।
जिल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधी र क्षेत्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुन लागेको हो । जिल्लाको पार्टी सभापति र केन्द्रीय कार्यसमितिका लागि निर्वाचनमा भाग लिन केन्द्रीय महाधिवेशन प्रतिनिधी अनिवार्य चयन हुनुपर्ने विधानतः व्यवस्था छ । सोही अनुरुप जिल्ला तहमा नेतृत्व गर्ने नेताहरुले चुनाव जित्नु अनिवार्य छ ।
सुर्खेत र दैलेखमा दुई -दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतको क्षेत्र नं। १ को मेहेल कुना र क्षेत्र नं। २ को बाबियाचौरमा मतदान सुरु भएको छ ।
यस्तै, दैलेखको क्षेत्र नं। १ को नारायण नगरपालिका र क्षेत्र नं। २ को दुल्लूमा मतदान सुरु भएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं। १ मा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका नगेन्द्र बहादुर मल्ल (संस्थापन पक्ष) र दशरथ खड्का (संस्थापन ईतर) को प्यानल निर्वाचनमा होमिएको छ ।
यस्तै, दैलेख निर्वाचन क्षेत्र नं। २ मा भरत प्रसाद रिजाल (संस्थापन पक्ष) र मात्रिका प्रसाद रिजाल (संस्थापन ईतर)को प्यानलले निर्वाचनमा उम्मेद्वारी दिएका छन् ।

यसैगरि, सुर्खेत निर्वाचन क्षेत्र नं। १ मा झक बहादुर डाँगी (संस्थापन पक्ष) र बल बहादुर वली (संस्थापन ईतर) बीच प्रतिस्पर्धा हुँदै छ भने क्षेत्र नं। २ मा सभापतिका लागि तीन जनाको उम्मेद्वारी रहेको छ ।
संस्थापन पक्षबाट इन्द्र रावल र लालविर भण्डारीले उम्मेद्वारी दिएका छन् भने संस्थापन ईतरबाट ललित भट्टराई उम्मेद्वार बनेका छन् ।
संस्थापन पक्षबाट दुई जनाको उम्मेद्वारी भएपनि इन्द्र बहादुर रावलको प्यानललाई विजय गराउन लालविर भण्डारीले समर्थन गरेका छन् । ‘लालविर भण्डारीको उम्मेद्वारी फिर्ता लिने समय सकिएकोले उम्मेद्वारी रहेकै छ’ स्रोतले भन्यो, ‘तर, उहाँको समर्थन पछि संस्थापन पक्षको आधिकारिक इन्द्र रावलको प्यानललाई हो ।’

