वनका राजा जनगणनामा समेटिए
सुर्खेत । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो ।
नेपालको २०६८ को जनगणना अनुसार नेपालमा राउटेको संख्या ६ सय १८ रहे पनि ६ सय ५० जना राउटे रहेको हुनसक्ने अनुमान गरिएको तथ्यांक छ । मध्य तथा पश्चिम नेपालमा फिरन्ते जीवन बिताउने राउटेको संख्या एक सय ५० उल्लेख गरिएको छ ।
२०६८ को जनगणना र २०७८ को प्रारम्भिक जनगणनालाई तुलना गर्दा पाँच जना राउटेको संख्या घटेको देखिन्छ । प्रारम्भिक जनगणना अनुसार पुरुष ६९ जना र महिला ७६ जना रहेका छन् । १ सय ४५ जनसंख्या र ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।
