एमाले महाधिवेशनका लागि कर्णालीबाट यि हुन् उम्मेदवार
सुर्खेत । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । महाधिवेशनमा कर्णाली प्रदेशबाट उम्मेदवारी दिन तयारी थालिएको छ ।
कर्णाली प्रदेशबाट यामलाल कँडेलले पार्टीको सचिवमा दावी गरेका छन् । नेकपा एमालेको कर्णाली प्रदेश सहईञ्चार्ज रहेको कँडेल एमालेको कर्णाली प्रदेश सभा दलका नेता हुन् ।
कर्णाली प्रदेशको भुगोल खुलाबाट दैलेखका विष्णु रिजालले केन्द्रीय सदस्यमा दावी गरिसकेका छन् । भने दल रावलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । रावलले प्रदेश भुगोल खुला वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
‘प्रदेश र जिल्लाका साथीहरुसँग छलफल भइरहेको छ, छलफलबाट निस्किने निष्कर्षअनुसार पिछडिएको क्षेत्र वा प्रदेशको भूगोल खुलाबाट उम्मेदवारी दिन्छु,’ रावलले भने ।
लगातार पछिल्ला दुई कार्यकाल हुम्ला जिल्लाको पार्टी अध्यक्ष रहेका रावल २०७४ को प्रदेश सभा निर्वाचनमा हुम्ला (क) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
रावलले तीन बर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री भएर काम गरिसकेका छन् । उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा पनि आफूले साथ दिने बताए ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता हुनेछ ।
महाधिवेशनमार्फत प्रदेशको भुगोल खुलाबाट ४ पुरुष र २ महिला गरि ६ जना केन्द्रीय सदस्य चयन गरिनेछ । पिछडिएको क्षेत्रमा पर्ने कर्णालीका ६ वटा जिल्ला, सुदूरपश्चिमका ३ वटा जिल्लाबाट २ पुरुष र १ महिलासहित ३ जना केन्द्रीय सदस्य हुनेछन् ।
