एमाले महाधिवेशन : उद्घाटन कार्यक्रम चार घण्टामै सक्ने तयारी
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबार मध्यान्ह चितवनको नारायणी किनारमा सुरु हुँदैछ। करिब ५० लाख खर्चिएर बनाएको निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।
उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको छ। उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने एमालेले जनाएको छ।
महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन्।
महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने तय भएको छ।
निम्ता पाएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन्। उनी शुक्रबार काभ्रेको खानीखोला र महाभारत गाउँपालिकामा पार्टीको अधिवेशन उद्घाटन गर्न हेलिकोप्टरबाट जाँदैछन्।
सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए। त्यस्तै उनले २५ देशबाट विभिन्न राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका बताए।
यो पटक एमालेले ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’मूल नारा तय गरेको छ।
महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेपछि कार्यक्रम करिब चार घण्टासम्म चल्ने भएको छ। एमालेले मध्यहान्ह साढे १२ बजे सुरु गरेर साढे ४ बजे उद्घाटन कार्यक्रम सक्ने योजना बनाएको छ।
नारायणी किनारमा उद्घाटन सकिएपछि बन्द सत्र सौराहाको सेभेन स्टार रिसोर्टमा हुने छ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले कार्यक्रममा धेरै वक्तालाई बोल्न नदिई शीर्ष नेतालाई मात्रै सम्बोधनका लागि कार्यतालिका बनाइएको बताए।
उद्घाटन सत्रमा ७२ जना कलाकारले एकसाथ राष्ट्रगान प्रस्तुत गर्ने छन्। त्यस्तै चितवनस्थित विभिन्न जातजातिका सांस्कृतिक झाँकी पनि प्रस्तुत हुनेछन्।
