एमाले पार्टी हैन कम्पनी हाे, पार्टीको झण्डा नि गैंडाको हातमा पाे छ : माधव नेपाल
सुर्खेत । पुराना विकृति, विसंगतिलाई हटाएर आफ्नो पार्टी अघि बढ्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका नेपालले पत्रकारहरूसँग कुरा गर्दै समाजवादी पार्टी नयाँ ढंगले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लागेको बताए ।
‘हामी पुराना विकृति र विसंगतिलाई हटाएर नयाँ ढंगले अगाडि बढ्न चाहन्छौं, किनभने कम्युनिस्ट पार्टी विकृति र विसंगतिकै कारण डुब्दो रहेछ,’ उनले भने, ‘नीति प्रधान होइन, नेता प्रधान भएर कम्युनिस्ट पार्टी पछाडि परेका छन्।’
भोलिबाट चितवनमा हुने नेकपा एमालेको महाधिवेशनबारे व्यंग्य गर्दै नेपालले थपे, ‘दिन थाल्यो भने कम्युनिस्ट आन्दोलन चौपट भइहाल्छ, अहिले कमसेकम गैंडाको हातमा झण्डा दिइएको छ, अब गैंडा पाइएन भने बाँदरको हातमा पार्टीको झण्डा दिने होला ।’
देशमा समाजवादीको पक्षमा उत्रिएको जनसागरले आफू उत्साहित भएको उनले बताए । आफूहरूको राजनीतिक क्रान्तिको उद्देश्य पूरा भए पनि सामाजिक, आर्थिक क्रान्ति पूरा नभएको नेपालले बताए । नेपाली जनताको हित र कल्याणमा आफ्नो पार्टीले काम गर्ने अध्यक्ष नेपालले बताए ।
चितवनमा हुन लागेको एमालेको महाधिवेशनमा नबोलाएको विषयमा सोधिएको पत्रकारहरूको प्रश्नमा नेपालले भने, ‘जुन गाउँमा जानु छैन त्यो गाउँको बाटै नसोध्नु भन्छन्, त्यसैले हामीले कुनै वास्ता नै गरेका छैनौं ।’ समाजवादीलाई भएको समर्थन देखेर विद्रोही दल तथा नेताहरूलाई ईर्ष्या गर्न थालेको उनले बताए ।
‘हामीप्रतिको समर्थन देखेर कतिपय मानिसहरू डाहाले जलिरहेका छन्, जथाभावी बकिरहेका छन्,’ नेपालले भने, ‘हामी त्यसै हिसाबले इँट्टाको जवाफ पत्थरले दिन चाहँदैनौं, बरू समृद्धि छाओस् भनेर कामना गर्न चाहन्छौं ।’
