आजदेखि काँग्रेस प्रदेश अधिवेशन सुरु, सात प्रदेशमा को-कोबीच हुँदैछ भिडन्त ?
नेपाली काँग्रेसको सातवटै प्रदेशमा अधिवेशन आज उद्घाटन हुँदैछ । काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।
प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् । समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
काँग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ। बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ ।
प्रदेश १ मा देउवा सिटौला पक्ष एक ठाउँमा
काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।
निर्वाचन समिति संयोजक भरतबहादुर थापाका अनुसार बिहीबार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन हुने छ । यस प्रदेशमा एक हजार ६७१ मतदाता छन् । कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री रहने छन् । अधिवेशनले पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ ।
प्रदेश १ को सभापतिमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा उद्धव थापालाई मैदानमा उत्रिने तयारी छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूह समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने नेताहरूको तयारी छ।
प्रदेश २ को सभापति सर्वसम्मत गराउने निधिको प्रयास
प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ । प्रदेश अधिवेशन समितिका संयोजक रमेश रिजालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । नेता महेश शङ्कर गिरीका अनुसार यस प्रदेशमा १ हजार ९८० मतदाता छन् । देउवा पक्षले प्रदेश २ को सभापतिको उम्मेदवारमा कृष्णा यादवलाई अगाडि सार्ने भएको छ भने पौडेल समूहबाट सप्तरीका पूर्वसभापति रामकुमार यादवलाई अगाडि सार्ने तयारी छ ।
यस्तै केन्द्रमा सभापतिको उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले रामसरोज यादवलाई प्रदेश २ को सभापतिको उम्मेदवार बनाउने छन् । निधिले गृह प्रदेश २ मा प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका यादवलाई सर्वसम्मत सभापति बनाउन चाहेका छन् । त्यसका लागि निधिले सभापति देउवासँग पनि संवाद गरिरहेको बुझिएको छ ।
बागमती प्रदेशमा त्रीपक्षीय भिडन्तको सम्भावना
काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसारका अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा पुग्ने क्रम जारी छ ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको अधिवेशन हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशमा काँग्रेसका एक हजार ९६० मतदाता छन् । प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । त्यसमा हरेक जिल्लाबाट एक पुरुष र एक महिला अनिवार्य हुन्छ । २२ जना खुला र २६ जना समानुपातिक सदस्य रहने छन् ।
प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । यता नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ ।
देउवा समूहको उम्मेदावरी घोषण, पौडल समूह छलफलमा
गण्डकी प्रदेश प्रदेश अधिवेशन पोखरामा बिहीबार मध्यान्ह १२ः३० मा उद्घाटन हुन्छ प्रदेश अधिवेशन संयोजक गोपालमान श्रेष्ठले प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको बताए । उनका अनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
गण्डकी प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाका अनुसार प्रदेश एक हजार १०० भन्दा बढी मतदाताले प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने छन् । गण्डकी प्रदेश सभापतिमा देउवा समूहले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई अगाडि सारेको छ । जोशीको नेतृत्वमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कालाई उपसभापति र सामाजिक विकासमन्त्री स्याङ्जाका मेखलाल श्रेष्ठलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी देउवा पक्षको तयारीमा छ ।
वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा उनको समूहबाट ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रराज शर्मा, देवराज चालिसे, यज्ञबहादुर थापा र रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुमध्येबाट एक जनालाई सभापतिको उम्मेदवारी बनाउन वरिष्ठ नेता पौडेल, महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार छलफलमा छ ।
लुम्बिनी प्रदेशमा भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने छ । गृहमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रदेश अधिवेशनको संयोजन गरेका छन् ।
लुम्बिनी प्रदेशका निर्वाचन संयोजक डा। बुद्धबहादुर थापाका अनुसार बिहीबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरिने छ । उक्त प्रदेशभरका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् ।
देउवा पक्षले सांसद भरत शाहलाई प्रदेश सभापतिको उम्मेदवार बनाएको छ । पौडेल समूहले भने रोल्पाका पूर्वसभापति अमरसिंह पुनलाई सभापति बनाउने भएको छ ।
कर्णालीमा प्रदेश सभापति क कसको सम्भवना र ?
कर्णाली प्रदेशमा पनि प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । प्रदेश अधिवेशनको संयोजन कर्णालीका मुख्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गरेका छन् । महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छन् । पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति यो अधिवेशनले चयन गर्नेछ ।
देउवा पक्षले कर्णालीमा ललितजंग शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ भने पौडेल समूहबाट भूपेन्द्रजंग शाही र दिपक शाहमध्ये एकलाई मैदान उतार्ने तयारी छ ।
देउवा समूहलाई उम्मेदवार छनोटमा सकस
सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा हुँदैछ । कानुनमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेश अधिवेशन समितिको संयोजन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ७१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
१६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि छन् । उनीहरुले प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् । सभापति देउवाको गृह प्रदेशमा उनको समूहलाई प्रदेश सभापतिको उम्मेदवारी छान्न सकस परेको छ ।
देउवाको समूहबाट सुदूरपश्चिम प्रदेश सभापतिको उम्मेदवारका लागि कैलालीका पूर्वसभापति नरनारायण शाह ९मनु०, पूर्वराज्यमन्त्री गोविन्द शाह, पूर्वराज्यमन्त्री अर्जुनजंग सिंह, पुष्प शाही र प्रदेशसभा सदस्य गोविन्द बोहोराले उम्मेदवारी घोषणा गरेका छन् । पौडेल समूहले भरत खड्कालाई अघि सार्ने वा देउवा समूहमा दुई उम्मेदवार भए एउटा उम्मेदवारसँग मिलेर जाने भनेर टुंगोमा पुग्न सकेको छैन ।
