जनताको पक्षमा काम गर्न महामन्त्री खड्काको निर्देशन
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रदेखि प्रदेशसम्म काँग्रेसको नेतृत्व भएपनि थोरै समय भएकाले धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘समय थोरै छ, यहीँ थोरै समयमा काँग्रेस नेतृत्वका सरकारले धेरै महत्वपूर्ण काम गर्नुछ । जनताका जीवनसँग जोडिएका र भोग्नुपरेका अप्ठ्यारा र असहजतालाई अनुभूति गर्ने गरेर नेतृत्वदेखि काँग्रेसजनले काम गर्न जरुरी छ ।’
नेपाली काँग्रेसको कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री खड्काले ‘काँग्रेस आयो, ढिलासुस्ती हट्यो’ भन्ने अनुभूति जनताले गर्ने गरेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताउदै काँग्रेसको राष्ट्रियता, लोकतन्त्र, समाजवादसँगै विभिन्न समयमा भएका परिवर्तनको नेतृत्वकर्ताका हैसियतले काँग्रेससँग जनताको गुनासो नरहेको बताए । नेताहरुले गर्ने व्यवहार, बोल्ने बोली र बचनबाट जनता काँग्रेसबाट टाढिएको उनको धारणा छ ।
‘पार्टी बचाएर जमिनमा बसेका सदस्य र जनताको काँग्रेसप्रति ठूला गुनासा केही छैनन् । नेता र नेतृत्वमा रहेका रहेकाहरुले बोली, बचन र व्यवहार राम्रो गरिदिए पुग्छ’, उनले भने ।
उनले काँग्रेस सबैलाई मिलाएर लिने ‘मियो’ भएको बताए । महामन्त्री खड्काले धैर्यता, लगनशीलता र लोकतान्त्रिक संस्कृतिलाई आत्मसाथ गर्न सके सफलता टाढा नहुने बताए । ‘काँग्रेसले धैर्यता, लगनशीलता र लोकतान्त्रिक संस्कृतिलाई आत्मसाथ गरेकै कारण संघीयदेखि प्रदेश तहसम्मको नेतृत्वमा हामी छौं,’ उनले भने, ‘काँग्रेस घमण्ड र अहंकारबाट होइन्, लोकतान्त्रिक संस्कृतिबाट सबैलाई मिलाउने मियो हो ।’
महामन्त्री खड्काले काँग्रेस भएर सूर्य, गाईमा भोट हाल्ने र हाल्न लगाउनेहरु पार्टीका लागि ‘दुस्मन’ भएको बताए । ‘लोकतान्त्रिक पार्टीमा निर्वाचन पवित्र अभ्यास हो,’ उनले भने, ‘यसैलाई निहुँ बनाएर सूर्य, गाईमा भोट हाल्नेहरु पार्टीका लागि दुस्मन हुन् ।’
उनले अहिलेको परिवर्तन कर्णालीका कारण संभव भएको समेत बताए । दुई तिहाईको कम्युनिष्टको बलसाली सरकारलाई कर्णालीबाट ढाल्न सफल भएको बताउदै उनले भने, ‘कर्णालीले एतिहासिक निर्णय नलिएको भए अहिले पनि नेकपा एमालेले संघ र अन्य प्रदेशमा नेतृत्व गरिरहेको हुन्थ्यो ।’ कर्णालीकै कारण गठबन्धन सम्भव भएको उनले बताए ।
