विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य
दैलेख । दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–५जनता आधारभुत विद्यालयका विद्यार्थी विद्यालय जानु भन्दा पहिला आकाशतिर हेर्छन । आकाशमा बादल देखिएको छ भने,विद्यालय जादैनन । सफा भए विद्यालय जान्छन् । यो जनता आधारभुत विद्यालयका विद्यार्थीको दैनिक दिनचार्य हो ।
०७७ साउन २५ मा आएको अविरल बर्षाले भवनको छाना भत्किए मर्मत गरिएको छैन भने २०७८ भदौंमा ८ मा हावाहुरीले दोस्रो भवनको टिनको पाता उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढन बाध्य छन्।

विद्यालय भवन भत्किएको एक बर्ष वितिसक्दा पनि विद्यालय बनेको छैन । विद्यालय भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनि बसेर पढन बाध्य छन् । विद्यालय अवस्था विजोग छ । विद्यार्थी पढन जाँदा कतिबेला के हुने भनेर चिन्ता लाग्ने गरेको छात्र सन्तोष रेग्मीले दुखेसो पोखे । उनले भने, ‘कतिखेर भवन भत्किएर पुरिने होकी भन्ने डर लाग्छ । पढाई भन्दा पुरिने चिन्तो पिरोलिन्छौ ।’
२ सय ५० भन्दा जना बिद्यार्थी रहेको विद्यालयमा कक्षा १ देखी ५ सम्म पढाई हुन्छ । तर ५ वटा कक्षा काठा मध्ये ३ वटा कोठा भत्किएपछि आँगन अध्ययन गर्ने थलो बनेको छ भने,वरको छहारी नै छानो बनेको छ । मौसममा फेरवदल हुनासाथ विद्यालय बन्द हुन्छ । विद्यार्थी मात्र होइनन् अभिभावकलाई पनि उस्तै लाग्ने गर्छ,बालबालिकाको बारे नराम्रो खबर सुनिन्छ की भनेर चिन्ता लाग्ने गरेको जर्मा विकले बताईन ।
२०३८ सालमा विद्यालय स्थापना भएको हो । बिद्यालयको तल्लो भागबाट पहिरोको जोखिम छ भने माथि भवनको छाना खस्ने चिन्तामा वालवालिकाहरु अध्ययन गर्न बाध्य छन् । वडानं ५ का वडाअध्यक्ष नारायण रेग्मी र प्रधानाध्यापक जनक कार्की यसै विद्यालयका पुर्व विद्यार्थी हुन् । वडाकार्यालयबाट विद्यालयको दुरी ३ मिटर छ । विद्यालयको दयनिय अवस्था हुँदा पनि कसैलाई चासो र चिन्ता छैन । जनप्रतिनिधी समेत चासो नदिँदा विद्यालयको अवस्था दयनिय छ ।
विद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनितिको चंगुलमा परेपछि विद्यालयको अवस्था जीर्ण बन्दै गएको स्थानीयबासी बताउँछन् । पार्टी मिले पनि गुट नमिल्दा विद्यालयको अवस्था जिउका त्युँ नै रह्यो । व्यवस्थापन समितिको कुरा वडा कार्यालयले नसुन्ने र वडाको कुरा कार्यपालिकाले नसुन्ने भएपनि शिक्षामाथि राजनिति हुँदा विद्यालय अवस्था दयनिय बनेको स्थानीयबासीको भनाई छ । वडा सरकार प्रत्येक बर्ष बजेट बिनियोजन गरेको दाबी गरेपनि बजेट शिक्षक पाल्दैमा सकिने गरेको वडाअध्यक्ष नारायण रेग्मीले बताए । उनले भने, वडाबाट बर्षेनी बजेट विनियोजन भएको छ । शिक्षकलाई पाल्नको लागि बजेट खर्चिने गरेको देखिन्छ ।

नागरिकलाई आधारभूत शिक्षामा पहुँचको, आर्थिक रुपले विपन्न नागरिकलाइ निशुल्क शिक्षाको सुनिश्चिता संविधानमा उल्लेख गरेपनि व्यहारमा लागु हुन सकेका छैन । गाउँका अधिकाँश विद्यालयमा राजनितिले गर्दा वालबालिकामा शिक्षा पाउनबाट बन्चित छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिका नेताका लागि उर्वभरभुमि मानिन्छ । पुर्व सभापति,पुर्वउपसभापति माननीय एवं केन्द्रियस्तर देखी जिल्लास्तर सम्मका नेता कार्यकर्ता नगरपालिकामै छन् । नेता भएपनि नीति कार्यान्वयन नहुँदा स्थानीयबासी विकासबाट टाढै छन् । यहाँका बासिन्दा जीवन गुजाराका लागि स्थानीयबासी कालापहाड गई जहानपरिवार पाल्दै आएका छन् । गाउँमै सिंहदरबार आएपनि स्थानीय सरकारले नागरिकका पिडा बुझ्न सकेको छैन । नागरिकका पिडा जिउँकात्यूँ नै छन् ।
