कर्णालीमा त्रिपक्षिय भिडन्त देउवा, निधि र पौडल पक्षबाट सभापतिमा उम्मेद्वारी दर्ता
सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कर्णाली प्रदेश कार्यसमितिमा तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वको लागि शुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता गराएका हुन ।
गिरिजाप्रसाद कोइराला स्मृति भवनमा देउवा पक्षबाट प्रदेश सभापतिमा ललितजंग शाही, निधिबाट मोतिराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले मनोनयन दर्ता गरेका छन् ।
ललितजंग जुम्ला, मोतिराज र शाही कालिकोटका हुन् । यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी परेको छ ।
सुर्खेतका केसी तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् । उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन २ बजे , दावि विरोध ३ बजेसम्म, उम्मेद्वारी फिर्ता भोली विहान ७ बजेसम्म र उम्मेद्वारको अन्तिम नामावली साढे ७ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।
मतदान भने भोली दिउँसो १२ बजेदेखी बेलुका ५ बजेसम्म हुने कार्यतालिका छ । कर्णालीमा प्रदेश प्रतिनिधि ४३३ र महाधिवेशन प्रतिनिधि ३१६ गरी ७४९ जना मतदाता छन् ।
