पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना
भारतीय ८पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ।
टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो। रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।
दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ।

इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।

-एजेन्सी
