कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
नेपाली काँग्रेसको उपसभापतिमा शेखर कोइराला समूहका धनराज गुरुङ र शेरबहादुर देउवाको प्यानलबाट पूर्णबहादुर खड्का बिजयी भएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा संम्पन्न भएको छ ।
सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका थिए । महेश आचार्य भने स्वतन्त्र उठेका थिए ।
खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । अन्तिम मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी नै छ । धनराज गुरुङले विजयकुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेको जानकारी प्राप्त भएको छ ।
खड्का निवर्तमान महामन्त्री हुन् । गुरुङ केन्द्रीय सदस्य थिए । खड्का देउवा प्यानलबाट जितेका हुन् । खड्का पटक(पटक मन्त्री भएका देउवाका निकट सहयोगी नेता हुन् । गुरुङ नेविसंघबाट राजनीतिमा उदायका व्यक्ति हुन् ।
गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।
