नेकपा ओली समुहको दोस्रो पुर्ण बैठक सम्पन्न, जिल्ला सदस्यले सपथ लिए
दोस्रो पूर्ण बैठकमा सहभागि नेकपा नेताहरु
दैलेख । प्रतिनिधी सभा विघटन सँगै दुई समुहमा विभाजन भएको नेकपा ओली समुहले दोस्रो पुर्ण वैठक सँगै जिल्ला सदस्यहरुले सपथ लिएका छन् । जिल्ला कमिटीमा मनोनित भएका नयाँ सदस्यहरुले विहीबार सामूहिक रुपमा सपथ लिएका हुन् । दैलेखको दोस्रो पूर्ण बैठकमा नयाँ सदस्यलाई ओली समुहका नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेल सपथ ग्रहण गराएका हुन् । बैठक दैलेखको कोतगढीमा बसेको थियो ।दोस्रो पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै,कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेतृत्वमा मुलुक समृद्ध हुने बताए । उनले भने, दाहाल मान्छे सक्कली हुन् । तर नक्कली कुराले गर्दा नागरिकको दाहाल र नेपाल समुहप्रति वितृष्णा जागेको छ । नागरिकले ओली समुहलाई नै विश्वास गरेका छन् । पार्टीले गरेका आमसभा कार्यक्रममा नागरिकको उपस्थितिले त्यो देखाएको छ । आफन्तले हेला गर्दा बृद्धबृद्धालाई पाल्ने पार्टी नेकपा बाहेक अरु छैनन् ।
सपथ ग्रहण बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले दाहाल र नेपालले सर्बोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाए । उनले भने, दाहाल र नेपाल अझै पनि सुध्रिन सकेका छैनन् । सो अवसरमा दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले ७१ सदस्यीय सचिवालय सदस्य मनोनित गर्ने लगाएतका प्रस्तावहरु पारित गरेको छ । बैठकलाई नेकपा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजाल, नेताहरु मिनासिंह रखाल, लक्ष्मीप्रसाद पोखरेल लगाएतले सम्बोधन गरेका थिए ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक, संवैधानिक र कानुनी रुपमा रक्षात्मक देखिए पनि संगठनात्मक गतिविधिमा भने आक्रामक देखिएको छ । माधव र नेपाल समुह प्रतिनिधी सभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा उत्रिएको छ ।
