बाथरूममा बेहोस भएका काठमाडौं मोडल कलेजका विद्यार्थीको मृत्यु
बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ। सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३र४ बजेतिर अस्पताल लगिएको थियो।
अस्पतालले सहनीलाई मृत घोषणा गरेको थियो।
प्रहरी उपरीक्षक मैनालीले ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमीले सहनी बेहोस भएको हुन सक्ने बताए।
‘अहिलेसम्म ग्यास गिजरको कारण मृत्यु भएको भन्ने छ। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मैनालीले भने।
कक्षा ११ मा पढ्ने सहनीको मृत्यु भएपछि मंगलबार विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले साथीको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन्।
जाडो मौसममा नुहाउन बाथरूमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ।
फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो।
‘हामी प्राय नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजन चलाउछौं,’ पौडेलले भने, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’
बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ।
‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उनले भने।
नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उनले बताए। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्।
यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्।
‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उनले भने।
उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्।
‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भने, ‘प्रायस् परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’
पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। भन्छन्, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उनले भने।
पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिन्छन्।
