प्रजातन्त्र दिवसमा अनेरास्ववियूद्धारा रक्तदान
दैलेख । प्रजातन्त्रदिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी ओली पक्षधरले रक्तदान गरेको छ । अनेरास्ववियूले ७१ औं प्रजातन्त्र दिवसको ऐतिहासिक अबसर पारेर शुक्रवार जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम गरेको हो । जिल्ला सदरमुकाम दैलेख बजारको स्थानीय देवकोटा चोकमा आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा १५ प्वाईन्ट रगत संकलन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) केन्द्रिय सचिवालय सदस्य नविन योगीले जानकारी दिए ।
दैलेखमा ब्लड बैंक नहुँदा अनेरास्ववियुले विद्यार्थीले गरेको रक्तदान भने सुर्खेत पठाईने भएको छ । जिल्लामा हालसम्म पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रक्त अभाव भएका विरामीलाई सुर्खेत लैजानुपर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् ।
अनेरास्ववियूद्धारा आयोजित रक्तदान कार्यक्रम मार्फत अनेरास्ववियूले बिरामीलाई आवश्यक रगत जुनसुकै समयमा पनि सहजै उपलब्ध गराउने जिम्मेवार निकायहरु स्वास्थ्य सेवा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलाई दैलेखमै ब्लड बैंक स्थापनाका लागि खबरदारी गरेको छ । अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य योगीले भने ,तत्काल सम्बन्धित निकायले रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्न पहल गर्नुपर्छ ।
