सुन्दरी तोप ५० बर्ष पछि दैलेख ल्याईदै
सुर्खेत । दैलेख २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत ल्याइयो । सेना र दैलेखको इतिहाससँग जोडिएका तोप ५० वर्षपछि दैलेखमा पुनस्स्थापना गर्न लागिएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाउने अन्तिम तयारी भएको जनाएको छ ।
सुर्खेतस्थित राजदल गणबाट दैलेख पुनस् स्थापना गर्न लागिएको सुन्दरी तोप ।
दैलेख काडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगी अड्डाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुनस्स्थापना गर्न स्वीकृत दिएको बताए ।हामीले पश्चिम कमान्ड हेडक्वार्टरलाई बारम्बार पत्रचार गरेका थियौं, उनले भने, ‘नारायण नगरपालिकाले सुरक्षा र रेखदेखको जिम्मा लिने भएपछि तोप पुनस्स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।’ विसं १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ । सुन्दरी तोप पितलबाट बनेको हो ।
दुई महिनाभित्र नेपाली सेनाको ट्रकमार्फत दैलेखको कोतगढीमा तोप पुनस्स्थापना गर्ने तयारी छ । कोतगढी नेपाली सेनाको स्वामित्व रहेको छ । तोप दैलेख पुनस्स्थापनाको पहल गरिरहेका तत्कालीन इन्द्रदल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढीका संरचना पुरानै अवस्थामा फर्काउन जरुरी रहेको औंल्याए । तोपको सुरक्षाको जिम्मा स्थानीयलाई दिँदा सुरक्षित नहुन सक्छ । नेपाली सेनाले नै सुरक्षाको जिम्मेवारी लिनुपर्दछु, उनले भने । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीको अहिले नारायण नगरपालिकाले आफ्नो जिम्मा लिएको छ ।

नेपाली सेनाको पश्चिम कमान्डका सेनापति प्रेमबहादुर शाहीले ऐतिहासिक सम्पदा संरक्षण र प्रर्वद्धनका लागि कानुन बाधक नहुने बताए । स्थानीयको माग अनुसार दैलेख पठाउन लागिएको उनको भनाई छ । सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट ल्याइएको थियो । उक्त तोपको खोजी भइरहेको सेनापति शाहीले बताए ।
नारायण नगरपालिका वडा १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले ऐतिहासिक तोप पुनस्स्थापनाले दैलेखको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । ‘तोप पुनस्स्थापना गरिनु ठूलो कुरा हो । यो हाम्रो अमूल्य सम्पत्ति हो, उनले भने, यसको सुरक्षा रेखदेखको जिम्मा नगरपालिकाले गर्छ ।’

तोप राख्नलाई गढीमा संरचना बनाउन थालिएको छ । अहिलेसम्म गढीको मर्मतसम्वार लागि एक करोड पाँच लाख खर्च भएको जानकारी उनले दिए । स्थानीय ज्वाला क्लबका अध्यक्ष विशाल सुनारले कोतगढीको ऐतिहासिक गरिमा कायम गर्न तथा कोतगढीको पुरानै संरचनामा फर्काउनुपर्ने बताए । त्यसबेला दसैं लगायतका महत्त्वपूर्ण चाडपर्वहरुमा तोपको बढाइ पछि मात्र पूजाआजा सुरु हुन्थ्यो, उनले भने, ‘तोप पुनस्स्थापना जिल्लाकै लागि खुसी कुरा हो, स्थानीयलाई जिम्मा दिनुभन्दा नेपाली सेनाले नै लिनु राम्रो हुन्छ ।’
-साभार कान्तिपुर
