जुम्लाको ओडारमा बस्दै आएका कुलाल मृत भेटिए, हत्या भएको आशंका
सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिका–१ का स्थानीय चेते कुलाल मृत भेटिएका छन् । स्थानीय ओडारमा बस्दै आएका कुलाल आज विहान मृत भेटिएका हुन् ।
उनी नेकपा एमाले जुम्लाको पार्टी कार्यालय नजिकै ओडारमा बस्दै आएका थिए ।
एमाले पार्टी कार्यालयको नयाँ बन्दै गरेको भवनमा निधार, मुख र टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
कुलाल चोटपटक सहित मृत अवस्थामा भेटिएकोले घटना रहस्यमय हुनसक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
‘विहान ८ बजे कुलाल मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शवगृहमा पोष्टपार्टमका लागि शव राखिएको छ ।’ प्रहरी उपरीक्षक चन्दले भने, ‘जाहेरी दिने उनका परिवारका छोरा, श्रीमती सुर्खेतबाट आउदै गरेकोले पोष्टपार्टम भएको छैन ।’
साथै, कुलालको हत्या भएको हुनसक्ने आशंकामा एकजनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक चन्दले जानकारी दिए ।
