यात्रुबाहक सवारी साधनका लागि सुर्खेत–दैलेख सडक खुल्यो
सुर्खेत । सुर्खेत–दैलेख सडक खण्डमा आजदेखि गाडी सञ्चालन भएका छन् । गाईबान्नास्थित घाम ताप्ने भीरमा सडक फराकिलो बनाउनुपर्ने भन्दै गत मंसिर १५ गतेदेखि ठूला यातायातका साधनलाई रोक लगाइएको थियो ।
यो रुटमा अब भने यात्रुबाहक सवारीसाधन गुड्ने व्यवस्था मिलाइएको छ । आज (मंगलबार)देखि यात्रुबाहक साना गाडी सञ्चालन भएका हुन् । हाइस, फोर्स, जीप लगायतका साना गाडीलाई दुईतर्फी चल्ने व्यवस्था मिलाइएको छ ।
मालबाहक गाडी र बस सञ्चालनका लागि सुर्खेतदेखि बांगेसिमल, तल्लो डुंगेश्वर हुँदै माथिल्लो डुंगेश्वर सडक खण्ड प्रयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
बन्द गरिएको सडकमा नै वैकल्पिक सडक प्रयोग गरी गाडी सञ्चालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । यात्रुको सहजताका लागि बाइपास रोडलाई ग्राबेल गरेर हाइस तथा फोर्स गाडी दुवैतिर चल्न सक्ने बनाइएको प्रजिअ प्याकुरेलले जानकारी दिए ।
गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिरको चट्टान काट्ने काम ५० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको हो । अहिले तीन मिटर मात्रै सडक चौडा रहेको यो भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सात मिटर चौडा सडक बनाइने छ ।
