दुई दिनदेखि हुम्लाको उत्तरी क्षेत्र लिमी सम्पर्कविहीन
सुर्खेत । हुम्लाको उत्तरी क्षेत्र हिमालपारीको गाउँ लिमी दुई दिनदेखि सञ्चार सम्पर्क हुन सकेको छैन । हिमपातले नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा र वर्ल्ड लिंकको इन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्कविहीन भएको हो ।
लिमीका स्थानीय कुन्जोक तामाङले मंगलबारबाट लिमीमा सम्पर्क गर्न खोजेपछि हुन नसकेको बताए । उनले भिस्याट टेलिफोन सेवा र वर्ल्ड लिंकको इन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्कविहीन भएको हो ।
नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङसँग सम्पर्क गर्न खोज्दा टेलिफोनको रिङ गएपनि सम्पर्क हुन नसेको उनले बताए । सोलारको चार्जबाट यी सेवा सञ्चालन हुँदै आएका छन् ।
उनले हिमपात भइरहेकाकारण घाम नलागेकोले पावरले काम नगर्दा लिमी सम्पर्कविहीन भएको बताए । लिमी जानका लागि दुई वटा नाका नारा र न्यालु लेकमा हिमपातले बाटो अवरुद्ध भएकाकारण आवतजावत बन्द भएको बताउँदै उनले आफन्तसँग सम्पर्क गर्न नसकिने अवस्था आएको बताए । लिमीका तीन गाउँ तील, हल्जी र जाँङ गरि एक लाइन भिस्याट फोन सञ्चालनमा थियो ।
हिमपातले चार हजार मिटर भन्दा अग्ला बस्ती रहेका लिमीको उक गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था छैन । मौसममा सुधार आएर घाम नलागेसम्म लिमीसँग सम्पर्क नहुँने अवस्था छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले उत्तरी हुम्ला सञ्चार सम्पर्कविहीन भएको बताए । लिमीका तीन गाउँमा मात्र नभइ चाला, यारी, मुचु लगायतका एक दर्जन गाउँबस्तीसँग सम्पर्क टुटेको छ । उनले हिल्सामा रहेको सीमा सुरक्षा चौकीसँग कतिकति बेला हुने जानकारी दिए ।
