संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालय बन्द हुने
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’
आजको बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि सहभागी थिए।आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
‘माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका छौं,’ नेपालले भनिन्।
साथै, प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।
